बोल्न नदिएर मुख थुनेको भन्दै संसद्‍मा सरकारको जवाफ माग



प्रधानमन्त्री सहभागी कार्यक्रममा उनीविरुद्ध नाराबाजी गरेको भन्दै केही युवाको मुख प्रहरीले थुनेको विषयले संसद्‍मा प्रवेश पाएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद डा. विमला राई पौड्यालले युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् ।

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि प्रहरीले युवाहरुको मुख थुनेर बोल्न रोक्न खोजेको थियो र उनीहरुलाई पक्राउ गरिएको थियो ।

सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन् ।

उनले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण माग गरेकी हुन् ।

संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गरिन् ।

‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोजेको र केही प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’


क्लिकमान्डु