वैदेशिक रोजगारीमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा विप्रेषण बढ्छः ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्दा उनीहरुलाई ठूलो राहत मिल्ने बताएका छन् ।

बुधबारदेखि विदेशमा रहेका नेपाली श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीले आर्जन गरेको रकम वैधानिक रुपमा भित्र्याउन पनि यसले निकै सहयोग गर्ने बताए ।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भोगेको पीडा मैले नजिकबाट महशुस गरेको छु’ ढकालले भने ‘कोषले सुरु गरेको यो कार्यक्रमले रेमिट्यान्स वैधानिक रुपमा आउन सहयोग गर्छ । रेमिट्यान्स बढ्दा देशलाई पनि लाभ हुन्छ ।’

अहिलेसम्म विप्रेषण आउँदा खुसी हुने र पठाउनेले भोगेको पीडामा ध्यान नजाने प्रवृति बढेको भन्दै उनले यो योजनाले विदेशमा रहेका नेपाली कामदारको पीडा कम गर्न केही हदसम्म सहयोग गर्ने बताए । यसले उनीहरुले आफ्नो सुरक्षाको प्रत्याभुती गर्न पाउने समेत ढकालको तर्क छ ।

जीडीपीमा रेमिट्यान्सको हिस्सा २५ प्रतिशत हाराहारीमा रहेको भन्दै ढकालले यति धेरै रेमिट्यान्स पठाउने नेपालीको सुरक्षाको व्यवस्था आवश्यक भएको र त्यो समस्या अहिले समाधानको बाटोतर्फ लागेको ढकालेको बुझाइ छ ।

यो सेवाले वैदेशिक रोजगारीमा रहेका नेपाली दुर्घटनामा पर्दा, औषधि सुविधा, अशक्त वा मृत्यु भएको अवस्थामा उनीहरुका आश्रीत परिवारका सदस्यलाई तोकिए अनुसारको प्रति महिना पेनशन र बालबालिकालाई शिक्षा, दिक्षा काम गर्न नसक्ने भए तोकिए बमोजिम आजिवन भत्ता वा भत्ता पाउन नसक्ने भएमा प्रतिफलसहित जम्मा भएको रकम एकमुष्ठ पाउन सक्ने उनले बताए ।


क्लिकमान्डु