बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाउँदैन भन्दै नारा लगाए ।

प्रहरीले गाडीमा राख्दै गर्दा दुवै युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवा मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक होऔँ भन्दै नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा पुग्दै गर्दा एक युवाले बैंकको मिटरब्याज मिनाह गर् भन्दै नारा लगाएका थिए । ती युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।


क्लिकमान्डु