सुनको मूल्य अकासिँदा हिराको व्यापार बढ्यो, कति खपत हुन्छ नेपाली बजारमा ?



काठमाडौं । सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड कायम भइरहेको छ । चैत ५ गते (आइतबार) मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

आइतबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहँदा बजार निकै प्रभावित भएको व्यवसायी बताउँछन् ।

पुसयता सुनको मूल्य १ लाख रुपैयाँभन्दा कम हुन सकेको छैन । पुसबाट निरन्तर सुनको मूल्य उकालो लाग्दा माघ १९ गते नयाँ रेकर्ड कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार माघ १९ गते सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर घटेर १ लाख १ हजार रुपैयाँको हाराहारीमा झरेको थियो ।

तर, चैत लागेलगत्तै निरन्तर बढेर सुनको मूल्यले आइतरबा नयाँ रेकर्ड बनाएको हो । नेपाली बजारमा सुनको दैनिक माग ३० किलोभन्दा बढी रहेको व्यवसायी बताउँछन् । तर, सरकारले एक वर्षदेखि कोटा घटाएर दैनिक २० किलोबाट १० किलोमा झारेको छ । सुन अभाव र मूल्यवृद्धिले कारोबार ठप्प भएको व्यापारी बताउँछन् ।

सुनको मूल्य निरन्तर उकालो लाग्दा हिराको कारोबार भने बढेको छ । विगतको दिनमा सुनको मूल्य कम हुँदा हिरातर्फ मानिसको आकर्षण देखिन्थ्यो । तर, पछिल्ला दिनहरुमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दा हिरातर्फ आकर्षण बढेको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ बताउँछिन् ।

उनका अनुसार सुनको मूल्य उच्च भएपछि हिरातर्फ मानिसको आकर्षण बढ्दै गएको हो । ‘केही वर्ष अघिसम्म नेपालमा हिरा खासै खपत हुँदैनथ्यो । तर, पछिल्ला दिनमा सुनसँगै हिरामा पनि आकर्षण बढ्दो छ,’ उनले क्लिकमान्डुसँग भनिन् ।

अन्य देशमा जस्तो नेपालमा हिरा खपत हुँदैन । नेपालमा हिराभन्दा सुनको उच्च माग छ । सीमित वर्गका मानिसले मात्रै हिराको प्रयोग गर्दै आएका छन् ।

हिराको प्रयोगसँगै आयात पनि निरन्तर उकालो लागिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा चालू आर्थिक वर्षको ७ महिनामा १ अर्ब ३० करोड ९ लाख रुपैयाँको हिरा आयात भएको छ । गत वर्ष २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँको हिरा आयात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३७ करोड ६२ लाख रुपैयाँको हिरा आयात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा अधिकांश हिरा भारतबाट आयात हुँदै आएको छ । सात महिनामा १ अर्ब ३० करोडको हिरा आयात हुँदा भारतबाट मात्रै १ अर्ब २२ करोड ३४ लाख ५७ हजार रुपैयाँको ३४ हजार ९१८ क्यारेट हिरा आयात भएको छ ।

त्यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई)बाट ६ करोड ९२ लाख ४२ हजारको ९१८ क्यारेट र हङकङबाट ८२ लाख १९ हजार रुपैयाँको हिरा आयात भएको छ ।


क्लिकमान्डु