कागती र सुन्तलाखेतीले बाँझो भिरालो जमिन हराभरा



नवलपुर । भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपुरको बुलिङ्गटार गाउँपालिका–४ सिँचाङका बासिन्दा दंग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने मेहनत गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्नेमा विश्वस्त भएका छन् ।

निर्वाहमुखी खेती गर्दै आएका स्थानीय पनि रहरलाग्दा कागतीका बोट देखेर व्यावसायिक रुपमा कागती र सुन्तला लगाउने योजना बुनेका छन् । देवचुली नगरपालिकाका दिपक चापागाईं र देवी भुसालले २०७६ मा लगाएको कागतीले फुल खेल्न थालेपछि भिराला जमिन हरियाली देखिएका छन् ।

खेती उब्जनी भएन भनेर छाडेका, झाडीले भरिएका पाखा कागतीका बोटले भरिएपछि स्थानीयमा अब बाँझो जमिन नराख्ने भन्ने सोच आएको हो । पैँतालीस वर्षीय टिकिसरा थापामगरलाई पहिले झाडी भएको जग्गामा किन खेती गर्न लागेको होला भन्ने लागेको थियो । भिरालो जमिनमा मल र पानी नअडिने हुँदा बाली लगाउन समस्या भएपछि बारी बाझै छाड्ने गरेको थापाले बताइन् ।

‘एक वर्षमा आधा वर्ष यहाँ भएको उब्जनीले खान पुग्दैन, कुखुरा, बाख्रा, बङ्गुर बेचर खानुपर्छ, आम्दानीको स्रोत भनेको नै यही हो,’ उनले भने, ‘अब डाँडापाखाको जमिनमा पनि मेहनत गर्न सके आम्दानी गर्न सकिन्छ भन्ने बल्ल सोच आएको छ, भिरालो जमिनमा पनि कागतीखेती हुने थाहा भयो अब जमिन बाझो नराख्ने योजना छ ।’

कागतीले डाँडापाखाको मुहार परिवर्तन भएको देखेर भुसाल कृषि फर्ममा काम गर्दै आएका स्थानीय रेखबहादुर रानामगरलाई विदेश नगएर यहीँ कर्म गरेकामा खुसी लागेको छ । तीन वर्ष मलेसिया बसेर घर फर्किएका ३१ वर्षीय राना फेरि विदेश जाने तयारीमा थिए ।

गाउँमा नै फर्म सञ्चालन गर्ने र काम पाउने भएपछि उनी विदेश त गएनन् तर भिरालो र झाडी भएको पाखामा खेती हुन्छ भन्नेमा भने उनलाई विश्वास थिएन । मेहनत गर्ने हो भने यहीँ राम्रो उत्पादन गर्न सकिने रहेछ तर आवश्यक ज्ञान, सीप र अवसरको खाँचो रहेको रेखबहादुरको भनाइ छ ।

हिजोआज रेखबहादुर जिल्लाका विभिन्न स्थानसँगै चितवन, लमजुङसम्म बिरुवा कलमी गर्न जाने गर्छन् । ‘विदेशमा जत्ति गर्ने मेहनत पनि गर्नुपरेको छैन, अहिले फर्मको मासिक तलबसँगै बिरुवा कलमी गरेर आम्दानी गर्ने अवसर मिलेको छ,’ उनले भने ।

बुलिङ्गटार–४ सिँचाङमा भुसाल कृषि फर्म दर्ता गरी भुसालले २०७६ देखि कागतीखेती सुरु गरेका हुन् । बजार मूल्य राम्रो रहेको सुनकागती–१ जातका कागती अहिले यहाँ फुलिरहेका छन् । अहिले फुलेका कागती अब साउनमा बिक्रीका लागि तयार हुने गर्छ ।

सत्तरी रोपनीमा दुई हजार कागतीका बिरुवा फुलेका छन् । त्यसमध्ये एक हजार कलमी र एक हजार विजु बिरुवाका कागती हुन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट बिरुवा, सिँचाइका लागि ट्यांकी, पाइप विस्तारलगायतमा सहयोग पाएको सञ्चालक भुसालले बताए ।

लिफ्टिङमार्फत प्रत्येक बिरुवामा सिँचाइका लागि पाइप विस्तार गरिएको छ भने आवश्यक मलका लागि फर्ममा नै पाडासमेत पालिएको छ । ‘पहिलो वर्ष दुई हजार बिरुवाबाट करिब १५ क्विन्टल कागती हुने अपेक्षा गरिएको छ,’ फर्मका सञ्चालक भुसालले बताए ।

यस्तै बौदीकाली गाउँपालिका वडा नम्बर ६ नेवारबारीमा सुन्तलाको बगैंचा छ । यहाँ ३५ रोपनी क्षेत्रफलमा एक हजार सुन्तलाका बोटमा फूल खेल्दै छन् । पाँच रोपनीमा सुन्तला र कागतीको नर्सरी छ । सुनकागती–१ र सुनकागती–२ स्थानीय जातका सुन्तलाका बिरुवा कलमी र विजु गरेका २५ हजार बिरुवा हुर्किरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर विभिन्न क्षेत्रमा काम गरे पनि स्वदेशमा नै आत्मनिर्भर बन्न कृषिमा नै लाग्नुपर्ने देखेपछि चापागाईँले सफल कृषि फर्म दर्ता गरी सुन्तलाखेती सुरु गरेको बताए । ‘जिल्लामा नर्सरी नहुनु, स्वस्थ बिरुवा पाउन गाह्रो, अन्यत्रबाट ल्याउँदा बिरुवा हुर्काउन समस्या भएको हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वयमा २०७७ देखि नर्सरी सुरु गरेको हो,’ फर्मका सञ्चालक चापागार्इँले भने ।

सुन्तला र कागतीको बगैंचा खेती गरेका किसानलाई आवश्यक बिरुवा र नयाँ बगैँचा निर्माण गर्न चाहने किसानलाई पनि सुन्तला र कागतीका बिरुवा खोज्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने चापागाईंको विश्वास छ । ‘कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानसहित दुई करोडको लगानीमा बगैंचा र नर्सरी खेती गरिएको हो,’ उनले भने ।


क्लिकमान्डु