प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्य हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले चैत १२ सम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले पहिलोपटक पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन छ ।

प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्छ । प्रतिनिधिसभामा माओवादी केन्द्र ३२, कांग्रेस ८८, रास्वपा १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ४ र जनमोर्चाका १ सांसद छन् । त्यस्तै विपक्षतर्फ एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र २, नेमकिपा र आमजनता पार्टीका १-१ सांसद छन् ।


क्लिकमान्डु