शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।
आइतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमवार (भोलि) सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् । उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।
‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो, भोलि सय नै हुन्छ भन्ने आशा छ ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उनलाई हालसम्म नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।