विराटनगरको आईसीपीमा तीनवटा संरचना निर्माण तीव्र



विराटनगर । विराटनगर आईसीपी क्षेत्रमा एकसाथ तीनवटा संरचना निर्माण सुरु भएको छ । विराटनगरको बुधनगरस्थित रेलवेको नेपाल कस्टम यार्ड र आईसीपीलाई जोड्ने लिंक रोड, रेलबाट आएका कन्टेर राख्ने यार्ड र चोरी पैठारीका वस्तु भण्डारण गर्न ‘लिटिगेसन’ गोदाम निर्माणको काम एकसाथ सुरु गरिएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले ५० करोड रुपैयाँ लागतमा कन्टेनर यार्ड, ६० लाख रुपैयाँ लागतमा पहुँच मार्ग र ४ करोड ८० लाख रुपैयाँ लागतमा लिटिगेसन गोदाम निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरेर प्रारम्भिक चरणको काम सुरु गरेको हो ।

समितिका इन्जिनियर प्रमोद आचार्यका अनुसार ५० करोड रुपैयाँ लागतमा २८ हजार वर्गमिटरको कन्टेनर यार्ड १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । रेलबाट आएका कन्टेनर आईसीपी परिसरसम्म आएपछि यार्डमा राखिनेछ । एकमाथि अर्को खप्ट्याएर तीन कन्टेनर एकै स्थानमा राख्न मिल्ने गरी यार्ड निर्माण गरिनेछ ।

आईसीपी जोड्ने पहुँचमार्ग विस्तारको काम धमाधम भइरहेको छ । रेलवेको नेपाल कस्टर्म यार्डबाट आईसीपीसम्म तत्काल मालवस्तु लोडेड कन्टेनर सडक सञ्जालमार्फत भित्र्याइनेछ । यो आईसीपी विस्तारको अल्पकालीन योजनाअनुसार सडक सञ्जाल प्रयोग गरिने भए पनि दीर्घकालीन रुपमा कस्टम यार्ड र आईसीपीलाई रेलवेले जोड्ने लक्ष्य राखिएको छ ।

यसैगरी भारतबाट अवैध रुपमा चोरी-पैठारी भई आएका मालवस्तु प्रहरी तथा भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएपछि राख्नका लागि छुट्टै गोदाम घर निर्माणको काम सुरु गरिएको छ । ‘लिटिगेसन सेड हाउस’ ४८/११ वर्गमिटर क्षेत्रफलको निर्माण हुनेछ । यसको निर्माण एक वर्ष अवधिमा सकिनेछ ।

भारतको बथनाहादेखि बुधनगर आईसीपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन नेपालले गर्नुपर्ने आवश्यक तयारीअन्तर्गत कन्टेनर यार्ड र लिंक रोडको काम सुरु गरिएको हो ।

पहिलो चरणमा कार्गो रेल नेपाल कस्टम यार्डसम्म आएपछि कन्टेनरलाई मालबाहक सवारीमार्फत आईसीपीको भन्सार यार्डसम्म नापजाँचका लागि ल्याइनेछ । कस्टम यार्ड र आईसीपीबीचको भागमा रेल यार्ड निर्माण गर्ने कार्य यो काम सकेपछि सुरु गरिने समितिले जनाएको छ । भदौ १७ गते बोलपत्र आह्वान गरिएको थियो ।

मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग, निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउने तयारी छ । तर, आवश्यक संरचना नहुँदा निर्माण सम्पन्न भइसकेको रेलमार्ग नेपालले प्रयोगमा ल्याउन सकेको छैन ।

रेलमार्गको १८.६ किलोमिटरमध्ये बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दूरीमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । त्यसपछि बारम्बार रेलमार्ग विस्तार प्रयोजनका लागि आवश्यक सामग्री बोकेर रेल आइरहेको छ ।


क्लिकमान्डु