समयानुकूल व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी: उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्।

महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन् ।

मुलुकभित्र व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।

समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

‘नयाँ सोचका साथ व्यापार नीतिहरु ल्याउनुपर्छ र संसक्त संगठन बिस्तार गर्नुपर्छ । त्यस्तो संगठन बिस्तार गर्न आफ्नो अनुभवले संगठन बिस्तार गर्न भूमिका खेल्नसक्छु । त्यही अनुसार मैले नेतृत्वउन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको छु,’ श्रेष्ठले भने, ‘ विभिन्न जिल्लामा भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको छु । २९ गते हुने निर्वाचनबाट व्यवसायीहरुले विश्वास गरेर अगाडि बढाउनु हुनेछ भन्ने विश्वासमा छु ।’

उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए । अबको चुनौति नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गर्नुभएको उनको भनाइ छ ।

संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने श्रेष्ठको भनाइ छ । पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर आफ्नो उम्मेद्वारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने उनले विश्वास व्यक्त गरे ।

‘अहिले उद्योगी व्यवसायीहरुले खोजेको भनेको व्यवसायिक वातावरण र लगानीको सुरक्षा हो । यी दुईवटा कुरा नै खोजेको हो । यो भन्दा बढी कुरा खोजेको छैन,’ उनले भने, ‘अबको युग परिवर्तन हुँदैछ । डिजिटल युगमा आएका छौं । नयाँ परिवर्तनशिल अवस्थामा व्यापार नयाँ ढङ्गमा ल्याउनुपर्ने छ । चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक बन्न नसकेर बजार मात्रै बन्छौं ।’

श्रेष्ठले उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने प्रतिवद्धता जनाए । पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पुर्‍याउने गरी काम गर्ने उनको भनाइ छ ।

‘उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न गरेको छ । हाम्रो पहुँच छ प्रभाव अलि पुगेन की भन्ने कुरामा महशुस गरेको छु । प्रभाव कसरी बढाउने भन्ने किसिममा नयाँ सोच बनाएर अगाडि बढाउँछौं । निर्वाचित भएमा अध्यक्षको साथ लिएर त्यस्ता कुराहरुलाई महासंघको प्रभाव बनाउन विशेष योजना बनाएर जानेछौं ’ उनले भने ।‍

उनले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताए ।

महासंघको विभिन्न उद्योग,राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको श्रेष्ठको भनाइ छ ।

उनले वरिष्ठ उपाध्यक्ष भएर काम गर्ने जिल्लादेखि केन्द्रसम्म टिम रहेको बताए । उनले टिममा बसेर महासंघको भिजन पेपर अनुसार काम गर्नको लागि पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने बताए ।

उनले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भीर भएर लाग्ने बताए । बैंकको ब्याजदरको विषयमा बैंकहरुले व्यवसायीहरुको अवस्थालाई बुझ्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको भन्दै उनले बैंकको ब्याजदर व्यवसायीहरुले धान्न सक्ने अवस्था नभएको बताए । राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको उनको आरोप थियो । पछिल्लो समय बजारमा तरलता लगायतको समस्या समान्य बन्दै जाँदा समेत ब्याजदर नघट्नेको अवस्थाले दूरी बढ्दै गएको उनले बताए ।

‘बैंकको ब्याजदरको विषयमा बैंकहरुले पनि बुझिदिनुपर्छ । व्यवसायीहरुको मर्का बैंकले बुझ्नुपर्छ । अहिले अर्थतन्त्र संकटका अवस्थामा छ । बजार सुनसान छ । उद्योगको उत्पादन घटेर ३० प्रतिशत रहेको छ । यो अवस्थामा जुन बैंकको ब्याजदर छ । व्यवसायीहरुले धान्न सक्ने अवस्था छैन,’ उनले भने,’ ब्याजदर बढाउने विषयमा बैंक आफैले गरेको पनि भन्दिन । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थाका कारण बढेको हो । मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको अवस्था छ । पछिल्लो समय बजारमा तरलता लगायतको समस्या समान्य बन्दै जाँदा समेत ब्याजदर नघट्नेको अवस्थाले दूरी बढ्दै गएको छ ।’

उनले ४ महिनामा नै ८ प्रतिशत रहेको ब्याज १६ प्रतिशत पुग्ने तर घट्ने बेलामा समय लाग्ने गरेको भन्दै बैंक र नियमक निकायले बुझ्न आवश्यक रहेको बताए । बैंक रहे मात्रै व्यवसाय र व्यवसाय रहे मात्रै बैंक बच्ने भएको भन्दै उनले उद्योगी व्यवसायी र बैंकले हातेमालो गर्न आवश्यक रहेको बताए ।

पछिल्लो समय बैंकसँग भन्दा पनि उधारो कारोबारको कारण उद्योगी व्यवसायीहरुबीच फाटो सुरु भएको भन्दै उनले आगामी दिनमा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा त्यो सम्बन्धलाई सुधार गर्न आवश्यक पहल गर्ने बताए ।

उपाध्यक्ष श्रेष्ठले साना घरेलु तथा मझौला उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले महासंघले प्रमुख प्राथमिकतामा राखेर मुद्दाहरु उठाइ रहेको बताए । उनले अब नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानु आवश्यक पहल गर्ने बताए ।

‘देशको अर्थतन्त्रको मेरुदण्ड भनेको नै साना घरेलु तथा मझौला उद्योगहरु हो । एशियन प्यासेफिकमा समेत साना घरेलु तथा मझौला उद्योगको ४० प्रतिशत योगदान छ । युरोपका देशहरुमा ६० प्रतिशत छ । नेपालमा २२ प्रतिशत छ,’ उनले भने, ‘सरकारलाई बारम्बार भनिरहेका छौं साना घरेलु तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादन वृद्धि र अवसर बढाउनु पर्‍यो ।’


क्लिकमान्डु