अमेरिकाबाट अवैधरुपमा पैसा भित्र्याउने पृथ्वी शाहसहित ६ जना जेल चलान



काठमाडौं । शंकास्पद कारोबारको आरोप लागेका अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाएको थियो । शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्ले, मनिला तामाङ सहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुद्दा चलाएको थियो । जसमध्ये ७ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन् ।

सीआईबीका प्रवक्ता सञ्जय सिंह थापाले ७ जनामध्ये ६ जना पुर्पक्षका लागि जेल चलन भएको क्लिकमाण्डुलाई जानकारी दिए । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । अन्य ६ जनामध्ये ४ जनालाई केन्द्रीय कारागार र २ जनालाई डिल्लीबजार चलान गरिएको थापाले जानकारी दिए ।

शाहसहितको यो समूहले अमेरिकाबाट समेत शंकास्पद रुपमा करोडौं रकम भित्र्याएको आरोप लागेको थियो । शाहले शंकास्पद रुपमा नेपाल भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले फुकुवाका लागि निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।

शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीको स्थापना गरी विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहूँमा इमेलमार्फत सम्पर्क स्थापित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट भेटिएका सीआईबीले जनाएको थियो ।

उक्त समूहले पीडितलाई फोन सम्पर्क गरी नियमित गतिविधिको निगरानी गर्ने र अन्तर्राष्ट्रिय पद्धति भएकाले ‘रिमोट एक्सेस’ दिनुपर्छ भनी पीडितलाई विश्वासमा पारेर डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाई रकम जम्मा भएको देखाउने र उक्त रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको थियो ।

त्यस समूहले विशेष गरी क्यान्सर पीडित तथा जेष्ठ नागरिकहरुलाई लक्ष्य बनाएको थियो ।

पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरुको बैंक खाताहरुमा विदेशी नागरिकहरुलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत जम्मा गर्न लगाएको विदेशी मुद्राको रुपान्तरित नेपाली रुपैयाँ ३८ करोड ८६ लाख ६२ हजार मध्येबाट निज पृथ्वी बहादुर शाहले जग्गा खरिद, घर निर्माण, शेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरुमा लगानी गर्ने गरेका थिए ।


क्लिकमान्डु