सात महिनामा बैंकिङ कसुरमा ७४ जना पक्राउ, २२ करोड ७४ लाख जरिवाना



काठमाडौं । चालू आर्थिक वर्षको माघ २५ सम्म नेपाल प्रहरीले ७४ जनालाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार चालू आवको ७ महिनामा ७४ जनालाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो ।

तीमध्ये ७३ जनालाई अदालतले फैसला गरेर पक्राउ गरिएको हो भने एक जनालाई हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ गरिएको हो । अदालतले बैकिङ कसुर गरेको फैसलापश्चात पक्राउ परेका ७३ बाट २२ करोड ८४ लाख ७१ हजार ३७१ रुपैयाँ असुल भएको छ ।

प्रहरीले पुस २५ मा काठमाडौंबाट बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा उदयचन्द्र यादवलाई पक्राउ गरेको थियो । धनुषाको क्षीरेश्वर नगरपालिका-१ बाट केही व्यक्तिले अवैध रुपमा अनलाइनमार्फत २० करोडभन्दा माथिको रकमको हुण्डी कारोबार गरेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले यादवलाई ल्यापटप, मोबाइल फोनसमेतका उपकरणसहित पक्राउ गरेको थियो ।

चालू आवको सुरुमै प्रहरीले काभ्रे घर भएर मनहरा बस्दै आएका नेमा मेन्जन लामालाई पक्राउ गरेको थियो । प्रहरीले उनलाई साउन ८ गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उच्च अदालत पाटनले गत आवको जेठ ३१ मा गरेको फैसला गरेर लामाविरुद्ध बैकिङ कसुर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति गर्ने फैसला गरेको थियो । उक्त फैसलापछि फरार रहेका उनलाई प्रहरीले साउन ८ गते पक्राउ गरेको थियो ।

साउन १२ मा प्रहरीले धरानका लक्ष्मण कार्कीलाई पक्राउ गरेको थियो । उच्च अदालत विराटनगरको २०७७ पुस २७ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१२ छाताचोकबाट पक्राउ गरेको थियो ।

साउन १६ मा प्रहरीले गोरखमान तामाङलाई पक्राउ गरेको थियो । उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद, नगद ६ लाख रुपैयाँ जरिवाना र नगद २४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

त्यस्तै, सोही दिन माया बस्नेत थापालाई पनि प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको थियो । ९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पटान ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिकाको बगलामुखीबाट पक्राउ गरेको थियो ।

थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

साउन १८ गते बुधबार १९ लाख ५० हजार बिगो रहेको बैंकिङ कसुर मुद्दामा दिपकचन्द्र आचार्य पक्राउ परेका थिए । त्यस्तै, साउन १९ गते बैंकिङ कसुरकै मुद्दामा फरार रहेका अनुप राजथलालाई प्रहरीले पक्राउ गरेको थियो ।

उच्च अदालत पाटनको गत जेठ ३० गते फैसलाले बैंकिङ कसुर मुद्दामा ४ दिन कैद, १२ लाख रुपैयाँ जरिवाना सजाय र ४८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने फैसला भएपछि उनी फरार थिए । उच्च अदालत पाटनको ६ लाख जरिवाना ठहर भई गरिएको फैसलापश्चात फरार रहेका सन्जोग लम्साल बैंकिङ कसुर मुद्दामा साउन ३१ मा पक्राउ परेका थिए ।

त्यस्तै, प्रहरीले भदौ ६ र ७ गते बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको थियो । उच्च अदालत पाटनले २४ दिन कैद सजाय र १ करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना गरेका अर्जुन बुढाथोकी भदौ ६ गते र ५ दिन कैद, २ लाख ५९ हजार रुपैयाँ जरिवाना र १० हजार ३ सय ६० रुपैयाँ क्षतिपूर्ति ठहर गरिएका सन्तोष सापकोटा पक्राउ परेका थिए ।

साउन ३० मा प्रहरीले २ करोड ६१ लाख ५५ हजारभन्दा धेरैको बैंकिङ कसुरको मुद्दामा फरार रहेका ब्रजेश उपाध्यायलाई पक्राउ गरेको थियो । उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ महिना १५ दिन कैद, २ करोड ६१ लाख ५५ हजार १ सय ७५ रुपैयाँ जरिवाना र १० लाख ४६ हजार २ सय ७ रुपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरिएको थियो ।

चेक बाउन्सः ३० जना पक्राउ, ११ करोड ४८ लाखभन्दा धेरै जरिवाना
चालू आर्थिक वर्षमा हालसम्म ३० जनालाई चेक बाउन्सको मुद्दामा पक्राउ गरिएको छ । पक्राउ परेका ३० जनाविरुद्ध अदालतले गरेको फैसला अनुसार कुल ११ करोड ४८ लाखभन्दा धेरै जरिवाना रहेको छ । त्यस्तै, उनीहरुबाट कुल २० हजार रुपैयाँ क्षतिपुर्ति पनि भुक्तानको ठहर भएको छ ।

साउन १० मा प्रहरीले पोखरा घर भएर काठमाडौं बाफल बस्ने निशा गुरुङलाई पनि बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको थियो । उच्च अदालत पाटनले गुरुङको मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना हुने गरि फैसला गरेको थियो । टोखाबाट पक्राउ परेकी उनले कुमारी बैंकको दरबारर्मा शाखामा आफ्नो खातामा पर्याप्त रकम हुँदा पनि भुक्तान हुन्छ भन्दै चेक दिएकी थिइन् ।

प्रहरीले साउन ८ मा टोखा बस्ने कृष्णबहादुर शाहीलाई पैसा नभएको खाताको चेक दिएर झुक्याएको घटनामा अदालतको फैसलापछि पक्राउ गरेको थियो । उनले एनसीसी बैंकको काठमाडौंमा रहेको खाताको चेक पिडितलाई दिएका थिए, तर उक्त चेक भुक्तान गर्दा उनको खातामा पर्याप्त मौज्दात थिएन ।

उनीविरुद्ध २०७७ जेठ २६ मा नै उच्च अदालत पाटनले फैसला गर्दै ४ दिन कैद र १३ लाख २० हजार रुपैयाँ जरिवाना र जरिवाना बमोजिमको विगो फैसला गरेको थियो । सोही फैसलापछि फरार रहेका उनीलाई प्रहरीले गत साउन ११ मा पक्राउ गरेको थियो ।

त्यस्तै, बैंकिङ कसुर मुद्दामा साउन ११ मा श्यामबहादुर थापा पक्राउ परेका थिए । उनीविरुद्ध उच्च अदालत पाटनले ५ दिन कैद र १५ लाख १९ हजार ७५० रुपैयाँको जरिवाना हुने गरि फैसला गरेको थियो ।

थापाले आफ्नो खातामा र्पयाप्त मौज्दात रकम नभएको भन्ने जानी जानी सानिमा बैंक लिमिटेड नयाँबजार शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

साउन १२ मा नै प्रहरीले सागर गुप्तालाई पक्राउ गरेको थियो । उच्च अदालत पाटनको २०७७ असोज ८ गतेको फैसलाले उक्त मुद्दामा ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिकाको नयाँबजारबाट पक्राउ गरेको थियो ।

गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

त्यस्तै, साउन २० मा चेक बाउन्सको मुद्दामा जायश्वर घिमिरेलाई पक्राउ गरिएको थियो । उच्च अदालत पाटनबाट ४ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना सजायको फैसलापश्चात फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । घिमिरेले नेपाल इन्भेस्टमेन्ट बैंक गोंगबु शाखा कार्यालय काठमाडौं रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

साउन २३ मा प्रहरीले उच्च अदालत पाटनबाट ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका रोशनकुमार गुप्तालाई पक्राउ गरेको थियो । गुप्ताले सानिमा बैंक काठमाडौंमा रहेको खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

त्यस्तै, साउन २४ मा प्रहरीले बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भएपश्चात फरार रहेका शिवराज थापालाई पक्राउ गरेको थियो । साउन ३० मा ३० दिन कैद र १० लाख जरिवानापश्चात फरार रहेका रामेश्वर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले ज्योति विकास बैंकको असन काठमाडौंको खाताको चेक भुक्तान हुन्छ भनि दिएको तर खातामा मौज्दत रकम नभएको भन्दै पीडितलाई झुक्याएको ठहर गरी अदालतले फैसला गरेको थियो ।

साउन ३१ मा चेक बाउन्सको मुद्दामा फरार रहेका निरज बुढाथोकी पक्राउ परेका थिए । उनलाई अदालत पाटनले ८ दिन र ४२ लाख रुपैयाँ जरिवाना ठहर गरेपश्चात उनी फरार थिए । बुढाथोकीले सेन्चुरी बैंक शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

त्यस्तै, प्रहरीले भदौ २६ मा बैंकिङ कसुरका तीन मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका इन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको थियो । कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर एनआईसी बैंक शाखा कार्यालय सोह्रखुट्टे काठमाडौंमा रहेको उनकै खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले कैद र जरिवानाको फैसला गरेको थियो ।

४५ लाख ५५ हजारभन्दा धेरैको चेक बाउन्सको मुद्दामा फरार रहेका दिपेन्द्र तातेडलाई प्रहरीले असोज ३१ मा पक्राउ गरेको थियो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले १५ दिन कैद र ४५ लाख ५५ हजार ४ सय १४ रूपैयाँ जरिवाना ठहर भएपश्चात तातेड फरार रहेका थिए ।

त्यस्तै, माघ ४ मा प्रहरीले १ करोडभन्दा धेरैको चेक बाउन्सको मुद्दामा प्रतिवादी रहेका एकराज दाहाललाई पक्राउ गरेको थियो । उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर दिएको तीन थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

त्यस्तै, फागुन १ मा ३ करोड ७५ लाख रुपैयाँ जरिवाना ठहर भएका सुमन बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ महिना कैद र ३ करोड ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको थियो ।

उनले हिमालय बैंकमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।


युवराज भट्टराई