जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएको बताए । त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पौडेलको भनाइ थियो ।

देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको उनले बताए ।

पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए ।

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनु पर्ने बताए । उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए ।

पौडेल बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका थिए ।


क्लिकमान्डु