सी चिनफिङ लगातार तेस्रो पटक बने चीनका राष्ट्रपति



काठमाडौं । सी चिनफिङ तेस्रोपटक चीनका राष्ट्रपति चयन भएका छन् ।

शुक्रबार चीनको संसद्, नेशनल पिपल्स कांग्रेस (एनपीसी) का करिब ३ हजार सदस्यले सर्वसम्मतिमा सीलाई भोट दिएका हुन् । ६९ वर्षका सीविरुद्ध अन्य कोही उम्मेदवार उठेका थिएनन् ।

माओत्से तुङपछि चीनमा सबैभन्दा शक्तिशाली नेताका रुपमा सीले आफूलाई स्थापित गरेको बीबीसीले उल्लेख गरेको छ ।
एक घण्टा चलेको मतदानको गणना १५ मिनेटमा पूरा गरिएको थियो ।

सीले यो चुनाव जित्नेबारे त्यतिबेलै निश्चित भएको थियो जतिबेला सन् २०१८ मा संविधान संशोधन गर्दै राष्ट्रपति बन्नका लागि सीमा हटाइएको थियो । त्यतिबेला २०२३ मा तेस्रो पटक सत्तामा रहनका लागि सीले संविधान संशोधन गराएको बताइएको थियो ।

सोमबार सीले संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । चीन पछिल्लो तीन वर्ष चलेको कडा कोभिड नीतिका कारण आर्थिक संकटसँग जुधिरहेको छ ।

गत हप्ता सीले अमेरिका र पश्चिमा देश चीनको आर्थिक संकटका लागि जिम्मेवार भएको आरोप लगाएका थिए ।


क्लिकमान्डु