प्रचण्डविरुद्धको मुद्दा खतिवडाको इजलासमा, के होला ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आजका लागि पेसी तोकिएको थियो ।
आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । शुक्रबार ११ औं र १२ औं नम्बरमा प्रचण्डविरुद्धको पेसी चढेको छ ।
ज्ञानेन्द्रराज आरण र चिरञ्जिविवास गिरीको रिटका लागि छुट्टाछुट्टै पेसी तोकिएको छ । पसी सूचीमा पछाडि रहेकाले आज पनि मुद्दाको सुनुवाइ हुने सम्भावना न्यून रहेको छ ।
जनुयुद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भन्ने प्रचण्डको केही वर्षअघिको भनाइविरुद्ध सर्वोच्चमा रिट पेस भएको थियो । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि इजलासमा निवेदन पेस भएको थियो । इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।
के भनेका थिए प्रचण्डले ?
‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ । म तथ्यांक मात्रै सच्याउन चाहन्छु । साथीहरू यो सत्य होइन। यो सत्य होइन । सत्य के हो मलाई भन्न दिनुहोस् । सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन् । हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भनेका थिए ।
उनले सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा भने आफूले लिने बताएका थिए । ‘तर म नगरेका कामको जिम्मा लिन्नँ,’ प्रचण्डको भनाइ थियो ।