रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित



काठमाडौं । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

८ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसदले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८सांसदले मत दिएका थिए ।

चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जना राष्ट्रपति चयनको मतदानमा सहभागि भएनन् ।

त्यस्तै कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका लागि क्रमश भारत र चीनमा रहेकाले मतदानमा सहभागी भएनन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित रहेकाले मतदान गर्न पाएनन् भने फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि मत दिन आएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।


क्लिकमान्डु