सामाजिक सुरक्षा कोषमा साढे ३० अर्ब रकम संकलन, पौने ४ अर्ब दाबी भुक्तानी रकम



काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्ममा साढे ३० अर्ब रकम संकलन भएको छ । योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा सुरुदेखि हालसम्ममा ३० अर्ब ५३ करोड रुपैयाँ रकम संकलन भएको हो ।

कोषकाअनुसार हालसम्ममा योगदानकर्ताबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९३ करोड १६ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १ अर्ब ३० करोड ४३ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २५ करोड १५ लाख रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत २० अर्ब २ करोड ५७ लाख रुपैयाँ रकम संकलन भएको छ ।

त्यसैगरी, साधारण अवकाश कोषमा ६ अर्ब ३६ करोड १५ लाख रुपैयाँ, विशेष सुविधा अवकाश बचत कोषमा ६८ लाख रुपैयाँ, अतिरिक्त योगदान कोषमा ३० करोड ७१ लाख रुपैयाँ, अन्य कोषबाट स्थानान्तरणमा २९ करोड ४५ लाख रुपैयाँ, अवकाश प्रतिफल कोषमा १९ करोड ९४ लाख रुपैयाँ र निवृत्तिभरण प्रतिफल कोषमा ८५ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।

कोषमा हालसम्ममा १७ हजार ७०९ वटा रोजगारदाता आबद्ध भएका छन् । आबद्ध भएका रोजगारदाताका ३ लाख ९७ हजार ९२८ जना योगदानकर्ता छन् । सोही योगदानकर्ताबाट कोषले साढे ३० अर्ब रकम संकलन गरेको हो ।

कोषमा आबद्ध भएका योगदानकर्तामध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट छन् । कोषकाअनुसार बागमती प्रदेशबाट मात्रै १२ हजार २३२ रोजगारदाता आबद्ध भएका छन् । जसमा ३ लाख ५ हजार ९९३ जना योगदानकर्ता छन् ।

बागमतीपछि कोसी प्रदेशका १८ सय ६० रोजगारदाताबाट ३८ हजार ७३६ जना योगदानकर्ता आबद्ध भएका छन् । त्यसैगरी, मधेश प्रदेशका ०९ जना रोजगारदाताको २१ हजार २२२ जना योगदानकर्ता, गण्डकी प्रदेशको ८३० रोजगारदाताको १५ हजार १७० जना योगदानकर्ता, लुम्बिनी प्रदेशबाट १४ सय ७ रोजगारदाताको १४ हजार ६७ जना योगदानकता, कर्णाली प्रदेशको २४३ रोजगारदाताको १२ सय १६ जना योगदानकता र सुदूरपश्चिम प्रदेशका २५६ रोजगारदाताबाट १५ सय २४ जना योगदानकर्ता आबद्ध भएका छन् ।

कोषले आबद्ध भएका योगदानकर्तालाई विभिन्न योजनामार्फत् सुविधा दिँदै आएको छ । विभिन्न योजनामार्फत् ६६ हजार ६३६ जना योगदानकर्ता लाभान्वित भएको कोषले जनाएको छ ।

कोषको तथ्याङ्कअनुसार हालसम्म औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबाट २५ हजार ८३ जना, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत् १२ सय ७५ जना, आश्रित परिवार सुरक्षा योजनामार्फत् ३० जना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत् ३९ हजार १७० जना योगदानकर्ताले सुविधा पाएका छन् ।

योजनामार्फत् दाबी भुक्तानी गरेका ६६ हजार योगदानकर्ताले हालसम्ममा ३ अर्ब ७० करोड रुपैयाँ रकम वितरण गरेको छ । जसमा मातृत्व योजनामार्फत् ४३ करोड ४७ लाख रुपैयाँ, आश्रित परिवार योजनामार्फत् ६ करोड २९ लाख, अशक्तता सुरक्षा योजनामार्फत् ५ करोड १५ लाख रुपैयाँ र वृद्ध अवस्था योजनामार्फत् ३ अर्ब १५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कोषले उल्लेख गरेको छ ।


क्लिकमान्डु