राष्ट्रपति चुनावको चहलपहल (तस्बिरहरु)



काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान जारी रहेको छ ।

बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान भइरहेको हो ।

निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ११ बजेसम्म संघीय सांसद १०० जनाले मत दिइसकेका छन् । त्यस्तै, प्रदेश सभाका १२४ सांसदले मत दिएका छन् । संघीय सांसदको ३३४ र प्रदेश सांसद ५५० ले मतभारको व्यवस्था रहेको छ ।

सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन् ।

प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरे । मतदाता मतदान स्थलमा पुगिसकेका छन् ।

अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । तेस्रो राष्ट्रपतिका लागि नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन् ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

नेपालमा विसं २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।


क्लिकमान्डु