देशको अवस्था चुनौतिपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छः नेम्वाङ



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौति रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बिहीबार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभुति दिलाउने उनको भनाइ छ । देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने नेम्वाङले बताए ।

‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहीत छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ । त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रुपमा काम गर्नेछु । जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो । जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महशुस हुने सवारी हुनेछ । म सबै दल र सारा नेपालीहरुको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु । यो देशका सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिनपर्छ । अहिले देश र जनताको अघि सारै ठूलो चुनौति रहेको छ । त्यसैले देश, जनता र सबै राजनीतिक दल एक ठाउँमा उभिनपर्छ’ उनले भने ।


क्लिकमान्डु