प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट श्रेष्ठको इजलासमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतलका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा चौथो नम्बरमा पेसी परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेतले उत्प्रेषण परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

प्रचण्डलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै मंगलबार रिट दर्ता भएको थियो ।

के भनेका थिए प्रचण्डले ?

‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु । साथीहरू यो सत्य होइन। यो सत्य होइन । सत्य के हो मलाई भन्न दिनुहोस् । सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन् । हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भनेका थिए ।

उनले सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा भने आफूले लिने बताएका थिए । ‘तर म नगरेका कामको जिम्मा लिन्नँ,’ प्रचण्डको भनाइ थियो ।

त्यतिबेला उनले रेशम चौधरीलाई छुटाइने बताएका थिए ।


क्लिकमान्डु