वाणिज्य बैंकहरुले प्रिमियम १ प्रतिशत घटाए, साना ऋणीलाई राहत हुने



काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा १ प्रतिशत प्रिमियम घटाएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको आजको बैठकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन् ।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । गत पुसमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत पुगेको छ । त्यसमा ६ प्रतिशतसम्म थपेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका थिए ।

आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो ।

‘तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले क्लिकमान्डुसँग भने । त्यस्तै कल डिपोजिटको ब्याजदर ०.२१ प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत बिन्दुले घटाउने निर्णय भएको उनले बताए । बैंकहरूले अब साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ । जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ । मुद्दति निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने अध्यक्ष केसीले जानकारी दिए ।

पुसदेखि वाणिज्य बैंकहरुको कर्जा प्रवाह दर घट्दै गएको छ । गत वर्षको पुसमा सीडी रेसियोको ८९.९९ प्रतिशतसम्म कर्जा प्रवाह गरेका बैंकहरु अहिले ८६ प्रतिशत हाराहारीको स्थितिमा छन् ।

यसको अर्थ अहिले बैंकहरुसँग करिब २ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । लगानीयोग्य रकम थुप्रिँदै जाँदा स्वाभाविक रुपमै ब्याजदर घट्दै जानेछ ।


क्लिकमान्डु