एक यात्रुले उडिरहेको विमानको ढोकाको चुकुल खुस्काइदिए पछि…



एजेन्सी । अमेरिकामा उडान भरिरहेको विभानको ढोका बिगारेको र दालकदलका सदस्यमाथि आक्रमण गर्न खोजेको आरोपमा एक यात्रु पक्राउ परेका छन् ।

समाचार संस्था बीबीसीका अनुसार लस एन्जलिसबाट बोस्टनका लागि उडेको युनाइटेड एअरलाइन्सको विमानमा एक व्यक्तिले हिंसात्मक गतिविधि गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विमानभित्र हिंसात्मक गतिविधि गरेको आरोप लागेका व्यक्ति ३३ वर्षीय फ्रान्सिस्को सेभेरो टोरेसलाई पक्राउ गरेको छ ।

उनले विमानको ढोका खुस्काइदिएको थाहा पाएपछि विमानभित्र आतङ्क फैलिएको थियो । त्यसबारे सोधखोज गर्दा उनले चालक दलका सदस्यमाथि आक्रमणको प्रयास गरेको समाचारमा जनाइएको छ । बोस्टनस्थित लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण भएपछि उनलाई पक्राउ गरिएको थियो ।

विमानको ढोका खुस्काइदिएको सूचना चालकदलले ककपिटभित्र पाएपछि कर्मचारीलाई हेर्न पठाए । जतिबेला विमान अवतरणका लागि एक घण्टाको समय बाँकी थियो ।

हेर्न गएका उनले ढोकाको ‘लक ह्यान्डल’को ठाउँ सरेको र त्यसको आपत्कालीन स्लाइड खुस्किएको पत्ता लगाए । त्यतिबेला टोरेस सोही स्थानमा घुमिरहेका थिए ।

विमानका कार्मचारीहरूले उनले नै ह्यान्डल बिगारेको शङ्का गरे । यसबारे प्रश्न गर्दा उनले कर्मचारीमाथि भाँचिएको चम्चाले आक्रमण गर्न खोजेका थिए । विमानका कर्मचारीमाथि आक्रमण गरेपछि अरू यात्रुले टोरेसलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

अमेरिकी न्याय मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार ‘डरलाग्दो हतियार प्रयोग गरेर चालकदलका सदस्यलाई हस्तक्षेप गरे वा हस्तक्षेप गर्ने प्रयास गरे’ आजीवन कारावासको सजायसम्म हुन सक्छ । त्यस्तो अभियोग लागेका व्यक्तिलाई पाँच वर्ष निगरानीमा राख्नेगरी रिहा गर्न पनि सकिने र २.५ लाख डलरसम्म जरिवाना हुन सक्ने जनाएको छ ।


क्लिकमान्डु