गन्ध आएको भन्दै ढलान गरेर पुरिँदै खहरे, काठमाडौं महानगरले लगायो रोक



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ र ५ मा रहेको खहरे खोलामाथि गैरकानुनी रुपमा भइरहेको ढलान रोकिएको छ । मंगलबार काठमाडौं महानगर प्रहरीले गैरकानुनी रुपमा खहरेमाथि भइरहेको ढलान रोकेको हो ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जनकाअनुसार यसअघिका जनप्रतिनिधिहरुले यो क्षेत्रमा खहरेमाथि ढलान गर्ने कामका लागि बागमती प्रदेश सरकारबाट बजेट व्यवस्था गरेका थिए । सोही बजेटअन्तर्गतबाट भइरहेको कामलाई मंगलबार महानगर प्रहरीले रोकेको महर्जनको भनाइ छ ।

‘पहिलेका जनप्रतिनिधिहरुको सिफारिसमा प्रदेशबाट पत्र गएको रहेछ । प्रदेश अन्तर्गतबाट त्यहाँ ढलानको काम भइरहेको रहेछ’ उनले भने ।

अघिल्लो कार्यकालका स्थानीय जनप्रतिनिधिहरुले स्थानीयको मागअनुसार खहरे खोलाबाट गन्ध आएको भन्दै यसलाई ढलान गरेर छोप्न सिफारिस गरेपश्चात बागमती प्रदेशबाट बजेट बिनियोजन भएको थियो ।

तर, कानुनअनुसार कुनै पनि खोलाको माथि यसरी ढलान गर्न मिल्दैन । भू तथा जलाधार संरक्षण ऐन, प्राचीन स्मारक ऐनलगायतका विभिन्न कानुनले कुनै खोला, नालालगायतमा अवरोध गर्ने गरि ढलान गर्न वा संरचना निर्माण गर्न पाइँदैन ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेकाअनुसार यसअघिका प्रदेश सांसद नारायण सिलवालको पहलमा प्रदेशअन्तर्गतबाट छुट्याइएको बजेटमार्फत उपत्यका विकास प्राधिकरणले उक्त खहरे खोलामाथि ढलानको काम गरेको हो ।

उक्त खहरे खोला न्युरो अस्पताल क्षेत्रबाट पासाङल्हामु फाउन्डेसनको क्षेत्र हुँदै बग्ने गर्छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ र ५ को सिमाना क्षेत्रमा हाँडीगाउँस्थित धोबिखोलाको भत्केको पुल क्षेत्रबाट नजिकै रहेको धन्वन्तरी फुटसल क्षेत्रमा रहेको खोलाको खण्डलाई ढलान गरेर छोप्न लागिएको थियो ।

मंगलबार महानगर प्रहरीले यो कामलाई बन्द गरेको छ । वडा नम्बर ४ का वडाध्यक्ष महर्जन भन्छन्, ‘आज बिहान महानगरको प्रहरी गएर कामलाई बन्द गराइएको छ ।’


क्लिकमान्डु