एमसीसीका लागि तनहुँ, धादिङ र पाल्पामा जग्गा प्राप्ति गरिँदै



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले निर्माण गर्ने प्रसारण लाइनका लागि तनहुँमा जग्गा प्राप्त गर्ने निर्णय भएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा फाल्गुन ११ मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्तिको काम अघि बढाउने निर्णय गरेको हो ।

तनहुँ जिल्लाका पाँच स्थानीय तहमा रहेका जग्गाहरुको प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको एमसीए नेपालले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । तनहुँ जिल्लामा पर्ने विद्युत प्रसारण लाइनअन्तर्गत टावरको जग निर्माण प्रयोजनका लागि जिल्ला भित्रकै विभिन्न ठाउँमा आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो ।

प्रकाशित सूचनाकाअनुसार रातमाटेदेखि नयाँ दमौलीसम्म तनहुँ जिल्लाका तीन स्थानीय तह आँबुखैरेनी, बन्दीपुर र ब्यासमा जग्गा प्राप्ति हुनेछ ।

यी त्यस्तै, बुटवलदेखि नयाँ दमौलीसम्म ब्यास, ऋषिङ्ग र घिरिङमा जग्गा प्राप्ति गर्न लागिएको हो ।

धादिङका विभिन्न क्षेत्रमा प्रसारण लाइनको टावरको जग निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियालाई अघि बढाइएको छ भने बुटवलदेखि नयाँ दमौलीसम्मको प्रसारण लाइनको टावरको जग निर्माण लागि पाल्पाको रामपुर र निस्दीमा जग्गा प्राप्तीको प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, एमसीए नेपालअन्तर्गत रातमाटेदेखि नयाँ हेटौंडासम्मको प्रसारण लाइनको टावरको जग निर्माणका लागि धादिङको गल्छी, थाक्रे, नीलकण्ड, सिद्धलेक, गजुरी र बेनिघाट रोराङमा पनि जग्गा प्राप्तीको प्रक्रिया अघि बढाइएको हो ।

प्रकाशित सूचनाकाअनुसार जग्गा प्राप्तिसम्बन्धी कार्य अघि बढाइएकाले सूचना प्रकाशित भएको तीन दिनपछि प्राविधिक सहितको टोलीले यी क्षेत्रमा गएर प्रक्रियालाई अघि बढाउनेछन् । जसमा सो क्षेत्रमा जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्नेलगायतका कामहरु हुनेछन् ।


क्लिकमान्डु