टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ हजार ८९



एजेन्सी । टर्कीमा गएको भूकम्पमा ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै १ लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा थियो ।

भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो ।

उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिस बसोबास गर्छन् । त्यस क्षेत्रमा ९ घण्टापछि ७.५ म्याग्निच्युडको दोस्रो ठूलो भूकम्प गएको थियो, जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवन ध्वस्त भएका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कुल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् । ‘इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)’ ले टर्की र सिरियामा ‘दोस्रो विपत्ति’ आउन नदिन स्वास्थ्य, मानसिक स्वास्थ्य र मनोसामाजिक आवश्यकताका लागि दिगो अल्पकालीन र दीर्घकालीन प्रतिक्रियाको तत्काल आवश्यकता रहेको चेतावनी दिएको छ ।

टर्की सरकारका अनुसार विपत्तिबाट दुई लाख १४ हजार भवनमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । प्रभावित ९ लाख ११ हजार ९ सय ४२ व्यक्तिलाई कहरमानमारस, हताय, उस्मानिय र मालत्या प्रान्तका चार वटा घुम्ती सामाजिक सेवा केन्द्रमा मनोसामाजिक सहायता प्रदान गरिएको टर्की सरकारले जनाएको छ ।


क्लिकमान्डु