बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा भट्टराईले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताएका हुन् ।

पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको उनको आरोप थियो । यसकाबिरुद्ध सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उनले उल्लेख गरे । उनले यस्ता मुद्दाहरुमा सबै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरुमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘ माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि’ उनले भने, ‘हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ । सक्नेहरु विचार मिल्नेहरु एउटै पार्टी बनाउँ । यस्ता मुद्दामा कार्यगत एकता गरौँ । त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदहरुको सपना पूरा गर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए ।


क्लिकमान्डु