युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ: प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भए मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 

राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मक रुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रधामन्त्री दाहालले भने, ‘परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ,’ उनले भने, ‘सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको छ ।’

प्रधानमन्त्री दाहालले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसासमेत गरे । ‘परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तर हित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ,’ शुभकामना सन्देशमा उनले भने ।

परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताए । ‘शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अंग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्न आवश्यक छ,’ उनले भने ।

युवाको हकहित र युवा नेतृत्वको विकासका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना  छ ।


क्लिकमान्डु