निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्न अमेरिकालाई चीनको चेतावनी



एजेन्सी । अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाको नाममा विदेशी कम्पनीलाई दबाउन राज्यशक्तिको दुरुपयोग गरिरहेको चीनले आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित प्रेस ब्रिफिङमा यस्तो टिप्पणी गरेका हुन् । ‘र यस्ता गलत कार्यको चीन दृढतापूर्वक विरोध गर्छ,’ उनले भने ।

ह्वाइट हाउसले सरकारी एजेन्सीलाई सबै संघीय उपकरणबाट टिकटक मेटाउन ३० दिनको समय दिएको बारेको प्रश्नमा उनको सो टिप्पणी आएको हो । अमेरिका-चीन प्रतिस्पर्धाको बीचमा अमेरिकी राष्ट्रिय सुरक्षामा चिन्ताको कारण दर्शाउँदै उठाइएका विषयमा चीनको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।

‘युवामाझ अत्यन्त लोकप्रिय एपसँग डराउन खोज्नु विश्वको शीर्ष महाशक्ति राष्ट्रको नीति अलि उपयुक्त हुँदैन । यसका नाममा राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाउँदै विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गर्नु गलत हो,’ प्रवक्ता माओले भने, ‘अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्छ ।’

अमेरिकाले कम्पनीहरूलाई दबाउन छोड्नुपर्ने र विदेशी कम्पनीहरूका लागि खुला, निष्पक्ष र गैर-भेदभावरहित वातावरण उपलब्ध गराउनुपर्ने चीनले स्पष्ट पारेको छ ।


क्लिकमान्डु