राष्ट्र बैंकले अनुमति दिँदा हात फैलाउने, सुपरिवेक्षण गर्दा मुठ्ठी कसेका कारण लघुवित्तमा समस्या: सांसद थापा



काठमाडौं । सांसद गगन कुमार थापाले नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनुमति दिने बेला हात फैलाएको र सुपरिवेक्षण गर्ने बेला मुठ्ठी कसेका कारण अहिलेको समस्या देखिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सांसद थापाले उक्त कुरा बताएका हुन् । उनले अहिले लघुवित्तमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने र सुपरिवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लैजाने व्यवस्था मिलाउन आग्रह गरे । उनले लघुवित्तका बरोमा वित्तीय साक्षरतालाई स्थानीय तहको साझेदारीमा तल्लो तहसम्म लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।

अति न्यून आय भएका नेपालीलाई गरिबीको आहालबाट माथि निकाल्न लघुवित्तले काम गर्ला की भन्ने अपेक्षा भएपनि कैयन लघुवित्तका कारण गरिबहरु उठन नसक्ने गरी थला परेको सांसद थापाले बताए ।

तत्काल गर्जो टार्न ऋणले ऋण लिने गर्दा अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त वित्तीय संस्थाका कारण अहिलेको समस्या देखिएको उनको भनाइ छ ।

‘साँच्चै मर्कामा परेकाहरुको निम्ती राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस, चाहे क्लाइन्ट प्रोटेक्सन फण्डहोस त्यो प्रयोग गर्नुपर्यो’ सांसद थापाले भने ‘बदनियत काम गर्ने संस्थाहरुलाई कारबाही गर्ने र एउटा संस्थाबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्ने प्रावधान गर्नुपर्यो ।’


क्लिकमान्डु