आरएमसी फुडले पाँच महिनामा गर्‍यो ९४ करोडको व्यापार, साढे ३ अर्ब ऋण लिँदै



काठमाडौं । आरएमसी ग्रुपद्वारा सञ्चालित आरएमसी फुड प्रालिले चालु आर्थिक वर्षको ५ महिनामा ९४ करोड रुपैयाँको व्यापार गरेको छ ।

नेपालमा कच्चा तेल प्रशोधन गरी ‘न्युट्रिप्लस’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२३ को ५ महिनाको अवधिमा ९४ करोड रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२१ देखि सञ्चालनमा आएको कम्पनीले रिफाइन्ड तेल राइस ब्रान आयल, एसिड आयल, दाल, बेकरी उत्पादन, घिउ र फ्याट स्प्रिड र आयल केक प्रशोधन गर्दै आएको छ ।

बाराको जीतपुर–७ मा रहेको कम्पनीले वार्षिक तेल क्षेत्रमा मात्रै ९० हजार मेट्रिक टन तेल प्रशोधन गर्दै आएको छ । श्रवणकुमार अग्रवाल, राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको संयुक्त लगानी रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि साढे ३ अर्बको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० करोड रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि २ अर्ब ७० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२३ को ५ महिनाको अवधिमा निर्यात बढ्दा व्यापार उच्च भएको जनाएको छ । कम्पनीले विशेषगरी सनफ्लावर, सोयाबिन र पाम तेल प्रशोधन गरी ‘न्युट्रिलस’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्दै आएको छ । त्यस्तै, कच्चा पदार्थमा अन्य देशमा भर पर्दा र अन्तर्राष्ट्रिय बजारमा मूल्य उत्तरचढावले गर्दा चुनौती थपिएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले सन् २०२३ को ५ महिनाको अवधिमा ४.२२ प्रतिशत नाफा कमाएको छ ।


क्लिकमान्डु