कृषि विकास बैंकका सीईओ गुरुङद्वारा पदभार ग्रहण



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।

बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।

सीईओ छनोट समितिले सीईओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उनी यसअघि म्यान्मारको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् ।

यसअघि उनी सिभिल बैंकको सीईओसमेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।


क्लिकमान्डु