प्यान नम्बर लिनेको संख्या ६ महिनामा पौने ४ लाखले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ३ लाख ७८ हजार ९४८ ले बढेको छ ।

असार मसान्तमा ४८ लाख ३० हजार ८११ जनाले प्यान नम्बर लिएका थिए । पुस मसान्तसम्म ५२ लाख ९ हजार ७५९ जनाले प्यान नम्बर लिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर, व्यक्तिगत स्थायी लेखा नम्बर र कर कट्टी गर्ने नियकाले पुस मसान्तसम्म ५२ लाख ९ हजार ७५९ वटा प्यान नम्बर लिएका छन् ।

पुस मसान्तसमम व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १८ लाख ४० हजार ४५० पुगेको छ । असार मसान्तमा १७ लाख ६२ हजार ४१३ रहेको थियो । ६ महिनाको अवधिमा ७८ हजार ३७ ले बढेको छ ।

यस्तै ६ महिनाको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २ लाख ९५ हजार ३४३ ले बढेर ३३ लाख ४५ हजार ६४७ पुगेको छ । असार मसान्तमा ३० लाख ५० हजार ३०४ रहेको थियो ।

यता कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ५ हजार ५६८ ले बढेर २३ हजार ६६२ पुगेको छ । असार मसान्तमा १८ हजार ९४ रहेको थियो ।

अर्थ मन्त्रालयका अनुसार यसमध्ये मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या १२ हजार २३६ ले बढेर ३ लाख ३ हजार ८६७ पुगेको छ । असार मसान्तमा २ लाख ९१ हजार ६३१ रहेको थियो ।

यस्तै अन्तःशुल्क ईजाजतपत्र लिने करतादाको संख्या ६ हजार ६६० ले बढेर १ लाख १८ हजार ८९१ रहेको छ । असार मसान्तमा १ लाख १२ हजार २३१ रहेको थियो ।


क्लिकमान्डु