सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ: माधवकुमार नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावी गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने बताए ।

‘ गठबन्धन संकटमा परेको छ । कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि अनि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता शुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो । त्यताबाट आएपछि यता जोगाउँछन् कि भनेको यही हो’ उनले भने ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए ।

‘मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ । अव सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हावी हुने हो कि । होइन सन्तुलनको राजनीति अप्नाएर जाने भन्ने मान्यता हावी हुने भन्ने कुरा हप्ता दिन भित्र टुंगो लागि सक्छ ’ नेपालले भने ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको बताए ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताए ।

पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दुर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क गरे ।

‘अहिले फेरी मण्डलेहरु जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईहरुले । मण्डलेहरुको रोग एमाले भित्र घुसेको छ । त्यहीबाट एमाले केन्द्रिय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन । एमालेमा सम्मानपूर्वक बसिरहेकै छ । त्यो भनेको चाँही कम्युनिष्ट पार्टीको निम्ति जालमर्दो कुरा हो’ नेपालले भने ।


क्लिकमान्डु