राष्ट्रपतिमा हामीलाई समर्थन गरे प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिन्छौं: कांग्रेस प्रवक्ता



काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताए ।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने बताए । उनले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए ।

‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन । एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहलिो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ’ उनले भने । प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको बताए ।


क्लिकमान्डु