बैंकर पवन ढकालको निधन
काठमाडौं । लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकालको निधन भएको छ । ढकालको हृदयघातका कारण निधन भएको हो ।
हृदयघातका कारण लामो समयदेखि उपचाररत ढकालको काठमाडौंमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिन्डलेज बैंक) बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । सो बैंकमा करिब ८ वर्ष बिताएका थिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक छाडेपछि उनी माछापुच्छ्रे बैंकमा आबद्ध भएका थिए । उनले माछापुच्छ्रे बैंकमा करिब १४ वर्षसम्म विभिन्न व्यवस्थापकीय भूमिका र जिम्मेवारीमा रहेर काम गरेका थिए ।
त्यसपछि साविक कैलाश विकास बैंकमा सहायक महाप्रबन्धक, सिद्धार्थ विकास बैंकमा डीसीईओ र जनता बैंकमा सहायक महाप्रबन्धकको रूपमा काम गरेका थिए । उनी सन् २०१९ जुनदेखि लुम्बिनी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा प्रवेश गरेका थिए ।