अन्तर बैंक ब्याजदर ८.५% माथि पुगेपछि राष्ट्र बैंकद्वारा ३० अर्बको रिपो जारी
काठमाडौं । अन्तर बैंक ब्याजदर ८ प्रतिशत माथि पुगेपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो जारी गरेको छ ।
माघ २९ गते ५० अर्ब रुपैयाँको रिपो परिपक्व भएर राष्ट्र बैंकमा पैसा फिर्ता गर्नुपरेपछि बैंक तथा वित्तीय संस्थामा अल्पकालिन लगानीयोग्य रकम (तरलता) अभाव भएको छ ।
जसले गर्दा माघ महिनामा राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) नलिएका बैंक तथा वित्तीय संस्थाले पनि फागुन लागे लगत्तै १६ अर्ब ५३ करोड २० लाख रुपैयाँको उक्त सुविधा लिएका छन् ।
एसएलएफ सुविधा लिँदा समेत अन्तर बैंक ब्याजदर नघट्दा केन्द्रीय बैंकले बुधबार १४ दिनका लागि ३० अर्ब रुपैयाँको रिपो जारी गरेको हो । २२ बैंक तथा वित्तीय संस्थाले ७.८ देखि ८.६५ प्रतिशत ब्याजदरमा रिपो सुविधा लिएका छन् ।
ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा बैंकदर नीतिगत दरभन्दा १.५ प्रतिशत बढी भए रिपो जारी गर्नु पर्ने व्यवस्था छ ।
हाल नीतिगत दर ७ प्रतिशत र स्थायी तरलता सुविधाको दर ८.५ प्रतिशत छ ।
मंगलबार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत रहेको छ । दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो ।
यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गति गर्ने गर्दछ । अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको व्यवस्था गरिएको थियो ।