मोबाइल पसलमा लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले फाल्गुन १ गते यातायात मजदुरले गरेको आन्दोलनको मौका छोपी नयाँ बसपार्कस्थित ल्होत्से व्यापारिक केन्द्रका पसलहरुको बन्द सटर तोडफोड गरी दिनदहाडै लुटपाटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राज्य प्रशासन र कानूनलाई चुनौती दिँदै भएको यो घटनाले सुरक्षा निकायको जनतालाई दिनुपर्ने शान्ति सुरक्षा र आफ्नो कर्तव्यमा कमीकमजोरी भएको देखिएको संघले जनाएको छ ।

शान्तिपूर्ण आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई पनि हुन्छ तर सोहि आन्दोलनको निहुँमा कसैको व्यक्तिगत व्यवसायमाथि तोडफोड र लुटपाट मच्चाउने अधिकार कसैलाई नभएको संघको भनाइ छ ।

उक्त तोडफोड र लुटपाटमा पीडित व्यवसायीले करोडौं मूल्यको मालसामानको क्षति भोग्नु परेको भन्दै संघले कोभिड प्रकोप, चर्को बैंक ब्याजदर लगायतका कारण धरायसी हुँदै गइरहेको नीजि क्षेत्र यस्ता घटनाले थप प्रभावित हुने जनाएको छ ।

‘राज्यलाई कर तिरेर निर्धक्क साथ व्यवसाय संचालन गर्न पनि नसक्ने स्थिति सिर्जना हुन निश्चय पनि पीडादायक छ । यो तोडफोड र लुटपाटको घोर बिरोध गर्दै यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि पक्राउ गरी कारवाही दिन र पीडित व्यवसायीहरुलाई आवश्यक क्षतिपुर्ति प्रदान गर्न यस संघले नेपाल सरकार समक्ष जोड्दार माग गर्दछ ‘ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उद्योगी व्यवसायीहरुले निर्धक्क साथ आफ्नो व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारसँग माग गरिएको छ ।


क्लिकमान्डु