‘एकल बिन्दुमा ब्याजदर सम्भव छैन, बैंकिङ क्षेत्रलाई चारैतर्फबाट आक्रमण भयो’
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्रिर्यामा केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए ।
‘बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनु पर्छ माग छ । तर, हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं,’ केसीले भने ‘ब्याजदर स्थिर बनाउनु पर्छ भन्ने हाम्रो पनि सोच हो । हामीले लिएको नीतिले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जान्छ ।’
बैंक बित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक बित्तीय संस्थाबाट ॠण लिएका १८ लाख ॠणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ ।
‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होईन, भारतको केन्द्रिय बैंकले अस्तिमात्रै ०।२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ केसीले भने नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो। हामी पनि ब्याजदर घट्नु पर्छ भन्ने चाहन्छौं । तर, अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो बजारलाई पनि असर गर्छ ।’ उनले भने ।
बैंक बित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ॠणी भन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु पर्ने केसीले बताए ।
‘बजारमा ॠणीको धेरै कुरा आयो, निक्षेपकर्ताको विषयमा कुनै कुरा आएको छैन,’ केसीले भने, ‘हामीले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नु पर्छ । अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ। नन पर्फमिङ एसेस्ट बढेको छ। अहिले जसरी ब्याज तिर्दैनौं भन्ने क्याम्पेन चलेको छ, त्यो राम्रो होईन ।’
केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएपनि अझै अर्थतन्त्र पुरै लयमा नभएको बताए ।
‘हामी अझै सजक हुनु पर्ने अवस्था छ, त्यसैले केन्द्रिय बैंकले मौद्रिक नीतिको समिक्षामा कुनै पनि दर संशोधन गरेको छैन,’ केसीले भने ‘अहिले पनि सचेत हुनु पर्ने अवस्था छ ।’
कार्यक्रममा नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंक बित्तीय संस्था नाफामा संचालन हुन नसके निक्षेपकर्ताकको विश्वास सिर्जना हुन नसक्ने बताए ।
‘पछिल्लो समय बैंक बित्तीय संस्थाको खराब कर्जा बढेको छ ढुंगानाले भने कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ॠणीले तिर्न सकेका छैन । जुन गम्भीर समस्या हो ।’ ढुंगानाल भने ।
ढुंगानाले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम हुन नसक्ने बताए ।
‘अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उछरिंकल कुरा आउनु राम्रो होइन,’ ढुंगानाले भने, ‘ब्याजदर नेपालमा मात्रै बढेको होइन । सबै तर्फ बढेको छ ।’