सप्तरीमा १३२ केभीको विद्युत प्रसारण लाइन बन्दै



काठमाडौं । सप्तरीको रुपनीदेखि बोदेवरसाइनसम्म १३२ किलोभोल्टको विद्युत प्रसारण लाइन बन्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सप्तरीको रुपनी गाउँपालिकाको सबस्टेसनदेखि सोही जिल्लाको बोदेवरसाइन नगरपालिकासम्म १८.६०५ किमि लामो प्रसारण लाइन निर्माण हुन लागेको हो । विद्युत विकास विभागले मंगलबार सूचना जारी गर्दै प्रस्तावित प्रसारण लाइन आयोजनाको जानकारी दिएको हो ।

यो प्रसारण लाइन २ सय मेगावाट क्षमताको १३२ किलोभोल्टको डबल सर्किट विद्युत प्रसारण लाइन हुनेछ । यसमा ७१ वटा ‘सेल्फ सपोर्टेड स्टिल लेक्टिक टावर’ जडान गरिएको हुनेछ । रुपनीको सबस्टेसनबाट सुरु हुने यो प्रसारण लाइन प्रस्तावित बोदेवरसाइन सबस्टेसनमा गएर जोडिनेछ ।

आयोजना निर्माणका लागि कुल ३७.४२४ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ, जसमध्ये सबस्टेसन निर्माणका लागि ३.४१५ हेक्टर र टावर निर्माणका लागि १.५९८ हेक्टर जग्गा अधिग्रहण गरिने बताइएको छ ।

प्राधिकरणले यो प्रसारण लाइनको निर्माण २०८२ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु