राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित



काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् ।

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिए ।

त्यसअघि नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताएका थिए ।

उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताए ।

‘लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अर्याल स्थापित महिला र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्नुभएको सफल व्यक्तित्व हुनुहुन्छ’ उनले भने ।

प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहेका सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए । उनले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राखे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सक्नेकी छन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मिएकी अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी हुन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छन् । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गरेकी छन् । उनका महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशित छन् ।


क्लिकमान्डु