विराटनगरमा सहकारीको अवस्था दयनीय, न्यायिक समितिमा उजुरीको चाङ



विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरणमा जानुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले सहकारीहरुबीच एकीकरण गरेर सञ्चालन गर्नु जरुरी रहेको औंल्याए । विराटनगरमा सञ्चालित केहीबाहेक अधिकांश सहकारीको आर्थिक अवस्था कमजोर रहेको मेयर कोइरालाको भनाइ थियो ।

‘सकिन्छ भने मर्जमा गएर व्यवस्थित गरौं,’ उनले भने, ‘यदि मर्जमा नजाने हो भने व्यवस्थित र पारदर्शी रुपमा चलाउनुप¥यो ।’ त्यस्तै सहकारीको भावना र मर्म विपरीत सञ्चालन गरिँदा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको मेयर कोइरालाको भनाइ थियो । उनले सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका हुने गरेको समेत चर्चा गरे ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको सहकारीहरुको अवस्था दयनीय भएको बताइन् । उनले महानगरको न्यायिक समितिमा हरेक दिन ५ वटाभन्दा बढी उजुरी आउने गरेको समेत सुनाइन् ।

उनले भनिन्, ‘विराटनगरमा सहकारीको अवस्था दयनीय छ । हामी अनुगमनमा जाँदा खातापाता नै व्यवस्थित नभएको पाउने गरेका छौं ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारीका सवालमा महानगर कठोर भएर प्रस्तुत हुने जानकारी दिए ।

अन्तरक्रियामा सहकारी क्षेत्रका व्यक्तिहरुले सहकारीहरुको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । महानगरभित्र कृषि, बहुद्देश्यीयसहित विभिन्न विषयगत १९२ वटा सहकारी सञ्चालनमा रहेको कृषि तथा सहकारी शाखाकी प्रमुख पृथ्वी बस्नेतले जानकारी दिइन् ।


क्लिकमान्डु