व्यवसायी ऋण तिर्न नसकी आत्मदाह र आत्महत्याको बाटो रोज्दैछन्: शाही



काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गरेका छन् ।

प्रमुख सचेतक शाहीले नेपाली किसानहरुलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषिमन्त्री ज्वालाकुमारी साहसँग माग गरिन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतबाट आयात हुने तरकारीमा प्रतिवन्ध लगाउन आग्रह गरे ।

नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरुलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिवन्ध गराउनुपर्ने उनको भनाइ थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गइरहेको बताए । उनले एशियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनि सरकारलाई प्रश्न गरे । सरकारले चर्को व्याजदर असुली गरेका कारण साना किसानहरुले आत्महत्या र आत्मादाहको बाटो रोज्नुपरेको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने बताए ।

शाहीले यसो भने

चुनावको बेलामा हामीले भोट माग्दै गर्दा र जनताले हामीलाई भोट हाल्दै गर्दा आफ्नो सपना र भविष्यलाई आत्मासात गर्दै हामीलाई भोट हालेका हुन् ।

तर यो संसदमा आएर हामीले जसरी समय बर्बाद गरिरहेका छौं । यसका लागि जनताले हामीलाई मत हालेका होइनन् । म यही प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । र, साथसाथै हामीलाई भोट मात्रै होलेका होइनन् ।

आफ्नो भविष्यलाई, आउने पुस्ताको समेत भविष्यलाई आत्मासात गरेर भोट हालेका हुन् । आज प्रजातन्त्र आएको झण्डै ७२ वर्ष भएछ । यसबीचमा झन्डै चार वटा व्यवस्था फेरिए । यो कुर्सीको रङ फेरियो, त्यो रोस्टमको रङ फेरियो । यहाँ व्यक्ति फेरिए । तर प्रवृत्ति उही रह्यो ।

हिजो भारत र बंगलादेशबाट हामीले मजदुर आयात गथ्र्यौं । आज एक रोटी खानका लागि र एकसरो कपडा ढाक्नका लागि नेपालीहरु विदेश जानुपर्ने परम्परा बसेको छ ।

अझै हामीले संसदमा बसेर ठूलो कुरा गर्ने सुहाउँदैन भन्ने मलाई लाग्दछ । आज व्यापारीले व्यापार गर्न पाएको छैन । आज किसानले खेती गर्न पाएको छैन । विद्यार्थीले गुणस्तरीय शिक्षा पाएको छैन । बिरामीले गुणस्तरीय उपचार पाएको छैन । अझै हामी सिद्धान्त र नयाँ क्रान्तिका कुरा गरिरहेका छौं ।

सत्ता र कुर्सीको लडाईमा रुमलिरहेका छौं । हाम्रो ध्यान कतातिर जाँदैछ, सभामुख महोदय । र, अहिले पनि हिजो विदेशीलाई खाद्यान्न दिने देश आज टमाटर टिप्नका लागि हाम्रा युवा साथीहरु विदेशिनु परेको छ । हिजो हामीले धान, चामल निर्यात गथ्र्यौं । तर आज नाकाबन्दी गरेपछि हामी भोकभोकै मर्ने डर हुन्छ सभामुख महोदय । त्यतिमात्रै होइन ।

कुनै समयमा एशीयाकै सबैभन्दा ठूला कहलिएका ४४ वटा उद्योग आज कहाँ गए ? यो अब खोजिको विषय बनेको छ सभामुख महोदय ।

कुनै जमानामा हाम्रा राष्ट्र प्रमुखले त्यतिखेर संसारकै शक्तिशाली मानिएका बेलायत र अमेरिकाको भ्रमण गर्दा सडकभरी जम्मा भएर सम्मान गर्थे । तर, आज हाम्रो राष्ट्रप्रमुखको सम्मान कहाँ गयो सभामुख महोदय । यो आज हामीले खोजिरहेका छौं । अहिले मात्रै बैंक तथा वित्तीय क्षेत्रमा कम ब्याजदरमा ऋण प्रवाह गरी असुल उपर गर्दा व्याजदर बढाउने गरेका छन्, सभामुख महोदय । जसले साना व्यवसायीलाई धराशायी भएको र ऋण तिर्न नसकी आत्मदाह र आत्महत्याको बाटो रोज्दैछन् ।

इलामका प्रेमप्रसाद आचार्य र पोखराका डल्फिन सहकारीका सञ्चालक यसैकारण आत्महत्या गर्न बाध्य भए । नेपाल सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि हस्तक्षेपकारी नियमन गर्नुप¥यो । जुन अनियन्त्रित व्याजदर छ । त्यसलाई रोक्नुप¥यो जीवन सहजताका लागि अनेकौ कोशिस गर्दागर्दै विषय परिस्थिति, कमजोर आर्थिक नीति, नियम, भ्रष्टाचारयुक्त राज्य संयन्त्र, व्यापार व्यवसायमा कालोबजारीकरणको कारण मान्छेहरु आज आत्मदाह र आत्महत्याको बाटो रोज्न बाध्य छन् । आत्मदाह र आत्महत्या गर्न बाध्य पार्नुमा राज्य प्रणालीको हात छ ।

यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । होइन भने अझै प्रेमप्रसाद आचार्यहरु उत्पन्न हुनेछन् । यहाँ हजारौंले झुन्डिएर मनुपर्ने अवस्था आउनसक्छ । मैले हिजो एउटा किसान चितवनमा रोइरहेको देखेको छु । हजारौं किसानहरु आज सडकमा आएका छन् । तर हामी रोस्टममा बसेर खोक्रा भाषण ठोकिरहेका छौं । हाम्रो नीति कहाँ छ ? माननीय कृषिमन्त्रीलाई आग्रह गर्दछु–भारतबाट आउने तरकारी बन्द गर्नुस् ।

बारीमा जाउ भविष्य छैन । खाडी जाउ उमेर छैन । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन् । झण्डै अघिल्लो वर्ष १७ अर्ब, ८० लाख ९० हजार र यो वर्षको ६ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपैयाँ हरियो तरकारी आयात गरिएको छ । विदेश पैसा पठाइएको छ । नेपाली किसान बजार मूल्य नपाएर आत्महत्या गरिरहेका छन् । चितवनको यो काठमाडौंको रोस्टम भन्दा १३७ किलोमिटर टाढा छ । तर आज चितवनमा टमाटरको मूल्य ८ रुपैयाँ किलोमा बिक्री हुन्छ । तर त्यही टमाटर आज हामी काठमाडौंमा ६० रुपैयाँ किलोमा खान बाध्य छौं ।

एक किलो टमाचार बराबर ६५० प्रतिशत महंगो छ । यो संसारको कुन देशमा छ सभामुख महोदय ? तत्काल कृषिमन्त्रीज्युलाई मेरो अनुरोध छ, आग्रह छ–यी बिचौलियालाई हत्कडी लगाएर थुनियोस् र यिनलाई बन्द गरियोस् । अनिमात्रै नेपाली किसानलाई आत्महत्या गर्न बाध्य बनाउने बाटो बन्द हुन्छ । नेपालका किसानले भारतमा तरकारी बेच्न नपाउने अवस्था छ । त्यसको अन्त्य गरियोस् ।


क्लिकमान्डु