ईबीआरटी निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान



काठमाडौं । चक्रपथ क्षेत्रमा ‘इलेक्ट्रिफाइड बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी)’ निर्माण गर्नका लागि यसको सम्भाव्यता अध्ययन हुने भएको छ ।

लगानी बोर्डको कार्यालयले चक्रपथ क्षेत्रमा ‘इलेक्ट्रिफाइड बस र्‍यापिड ट्रान्जिट (इबीआरटी)’को निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बोलपत्र आह्वान गरेको हो ।

बोर्डको कार्यालयले सार्वजनिक गरेको सूचनामा यो बोलपत्र काठमाडौंको चक्रपथ क्षेत्रमा ईबीआरटी प्रणाली लागू गर्नका लागि प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय सम्भाव्यता अध्ययनका लागि निकालिएको जनाइएको छ ।

बोर्डले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनबारेमा सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।

यो अध्ययनको लक्ष्य चक्रपथ क्षेत्रको कोरिडोरमा इलेक्ट्रिफाइड बीआरटीको सम्भाव्यता भए नभएकोसँगै यसको प्राविधिक पाटो, ट्राफिक व्यवस्थापन र भाडा संकलनको प्रणालीहरुलाई समेटनु पर्नेछ । सँगै यो प्रणाली सञ्चालन भएमा वातावरणीय रुपमा पुग्ने फाइदाको पनि अनुमान यहि सम्भाव्यता अध्ययनमा हुने छ ।

पूर्व सम्भाव्यता अध्ययन भइसकेको यो प्रस्तावित आयोजनामा २७.३० किमी चक्रपथमा सञ्चालन गर्ने लागिएको हो । बोर्डले जारी गरेको सूचनाकाअनुसार चक्रपथ क्षेत्रमा दुईवटा ईबीआरटीकै लागि लेनहरु हुनेछन् ।

प्रस्तावित योजनामा साढे ७ देखि ८ मिटर लेन ईबीआरटीका लागि छुट्याइने र यहाँ ७० देखि ७५ वटासम्म लामो आकारका विद्युतीय बसहरु चल्ने जनाइएको छ । यी बसको क्षमता १६० जना रहने छ । परियोजनाअन्तर्गत २७ वटा बस स्टेसन र एउटा टर्मिनल निर्माण गरिने जनाइएको छ ।

यस किसिमको प्रणालीमा चल्ने बसहरुलाई प्रविधि मैत्री बनाइनेछ, जसमा बस कहाँ आईपुग्यो वा बस कति बेला आइपुग्छ भन्ने जस्ता कुराहरु हेर्न स्मार्ट ट्र्याकिङ पनि व्यवस्था गरिने जनाइएको छ ।

बोर्डले जारी गरेको सूचनाअनुसार परियोजनाको सम्भाव्यता अध्ययनका लागि ईच्छुकले मार्च १२ अर्थात फागुन २८ गते दिउसो १२ बजेसम्म बोलपत्र भर्न सक्नेछन् ।


क्लिकमान्डु