पासपोर्ट दुरुपयोग गरेको छैन, नागरिकता संशोधन गरेर सजाय दिए हुन्छः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली पासपोर्टको दुरुपयोग आफूले नगरेको बताएका छन् ।

आइतबार पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको स्वीकार गर्दै अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको बताएका हुन् ।

‘मैले नेपाल फर्किँदा आफ्नो आमाको काखमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनुपर्छ जस्तो लागेन । मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग गरिनँ’ उनले भने ।

भोलि कानून संशोधन गरेर आफूलाई सजाय दिए पनि आफू तयार रहेको उनले बताए ।

‘कुनै पनि काम गर्दा अपराध गर्नुभयो भने असर र प्रभाव हुन्छ । मैले कसको कहाँ के बिराएँ ? भोलि कानून संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु । नयाँ कानून बनाएर सजाय दिए पनि हुन्छ । म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहिले गयो कहिले फर्कियो, त्यो त इमिग्रेसनको डेटामा भइहाल्छ । पत्रिकामा हेडलाइन बनाउनुपर्छ ? म लुकेर आएको हो र ?’


क्लिकमान्डु