रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै,भन्छन्: मैले सिधाकुरा नगरेको धेरै भएछ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो बस्ने पार्टीको बैठकले ठोस निर्णय लिने उनले बताएका छन् ।

लामिछानेले बैठकपछि पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन् । आफूले सिधा कुरा नगरेको धेरै भएले पत्रकार सम्मेलनलाई सिधा कुरासँग तुलना गरे ।

लामिछानेले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ।’

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट निर्वाचित लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले सांसद,मन्त्री र पार्टी सभापति गुमाएका लामिछाने पार्टीको नेतृत्वमा भने फर्किएका छन् ।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्तिको प्रकृया नगरेको अदालतको फैसला लगत्तै उनले नागरिकता पुन: प्राप्तिको प्रकृया पूरा गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदा बनेको गठबन्धन दलबीच सहमतिमा उनको दल रास्वपाले उपप्रधानसहित गृह र अन्य मन्त्रालय पाएको थियो ।

तर, लामिछाने सांसद नरहेको र पासपोर्टका विषयमा पनि विवाद रहेको भन्दै प्रचण्डले उनलाई पुन: गृहमन्त्रालय दिन अस्वीकार गरेका छन् भने लामिछाने र रास्वपाले आफूहरुले गठबन्धन गर्दा पाएको मन्त्रालयमा स्वभाविक दाबी रहेन बताइरहेको छ । सत्ता गठबन्धनको दल नेकपा एमालेले रास्वपालाई गृहमन्त्रालय दिनु पर्ने बताइरहेको छ ।

त्यसका लागि रास्वपाले हिजोसम्मको समय दिएको थियो । तर त्यसका लागि प्रधानमन्त्री तयार नभएपछि रास्वपाको बैठक बस्न लागेको हो ।


क्लिकमान्डु