विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्छु: राजदूत थम्पसन



विराटनगर । नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनले विराटनगरको विकासका लागि अमेरिकी सरकार समन्वय गर्न तयार रहेको बताएका छन् ।

विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थम्पसनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए ।

उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । “जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो,” थम्पसनले भने ।

मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि उनले जिज्ञाषा राखेका थिए । विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति थम्पसनले चासो राखेका थिए ।

खुला सीमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि उनले जानकारी लिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । नवोदितका अनुसार थम्पसनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेटमा महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको जानकारी गराए । दुवै खोलामा तटबन्धन निर्माणपछि मात्रै विराटनगरको डुबान समस्या समाधान हुने उनको भनाइ थियो ।

‘महानगरको सीमित स्रोतले डुबान समस्याको दीर्घकालीन समाधान गर्न गाह्रो छ । डुबानको अस्थायी समाधान गर्नेतर्फ त लागेका छौं,’ उनले भने, ‘तर स्थायी समाधानका लागि ठूलो बजेट आवश्यक पर्छ । त्यसका लागि दातृ निकायसँग पहल गरिरहेका छौं ।’

विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उनले सुनाए । अध्ययनका लागि काठमाडौंपछि सबैभन्दा बढी विद्यार्थी विराटनगरमा आउने गरेको उनको दाबी थियो ।

भेटमा मेयर कोइरालाले प्रदेश–१ मा पर्यटनको प्रचुर सम्भावना रहेको समेत बताए । उनले भने, ‘प्रदेशको पर्यटन विकासका लागि प्रादेशिक विमानस्थल बनाउनु जरुरी छ । यहाँबाट माउन्टेन फ्लाइट गर्दा काठमाडौंबाट भन्दा सस्तो पर्छ ।’

राजदूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन मेयर कोइरालाले महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै दूतावासका तर्फबाट पनि तोकिदिन आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् । उपमेयर कार्कीले न्यायिक समितिले गरेका काम र अनुभव सुनाएकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरका विषयमा प्रकाश पारे ।


क्लिकमान्डु