सरकारबाट बाहिरिने कि बस्नेबारे निर्णय गर्न रास्वपाको बैठक जारी



काठमाडौं । सरकारमा बस्ने वा बाहिरिने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू भएको छ ।

बिहीबार अपराह्न धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसिरहेको बैठकले रास्वपा सरकारमा बसिरहने कि बाहिरिने भन्नेबारे टुंगोमा पुग्ने नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा आफ्नो भागमा परेको गृहमन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आनाकानी गरेपछि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको हो ।

पार्टी सभापति रवि लामिछानलेविरुद्ध दायर नागरिकतासम्बन्धी रिटमा सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि उनी एकैपटक तीन महत्वपूर्ण पदबाट बाहिरिएका थिए । उनले उपप्रधान एवं गृहमन्त्री, सांसद र पार्टी सभापति छाड्नु परेको थियो ।

नागरिकता पुन: प्राप्ति गरेसँगै उनी पार्टीको सभापति बनेपनि मन्त्री र सांसद पद भने गएको छ ।

अहिले गृहमन्त्रीमा दोहोरिने र उपनिर्वाचनबाट विजयी भएर आउने उनको योजना रहेपनि प्रधानमन्त्रीले उनलाई गृहमन्त्री बनाउन अस्वीकार गरेका छन् । त्यसको जवाफ उनले सामाजिक सञ्जालबाट दिएका छन् । लामिछानेले आफू अभिमन्यु नबन्ने उल्लेख गरेका छन् ।


क्लिकमान्डु