बैंक खातामा जम्मा भएको पैसा सार्वजनिक भएपछि प्रेमप्रसादकी पत्नी नानुकाको आपत्ति



काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका इलाम प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनको भनाइ छ । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनले बताइन् ।

गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको जनाइन् ।

‘मेरो श्रीमानले मलाई पैसा आवोस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन् ।

आफ्नो खातामा पैसा हाल्न कसैलाई पनि व्यक्तिगत रुपमा आग्रह नगरेको उनी बताउँछिन्। ‘सहयोगी मनबाट सहयोगस्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ’, अधिकारीले भनिन् ।

उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् । सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आईएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिनसटहरु पोस्ट भइरहेका छन् ।

श्रीमान प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने बित्तिकै पुग्ने उनले बताइन् । ‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई सहिद घोषणा गर्न माग पनि गरेकी छु’, अधिकारीले भनिन् । रासस


क्लिकमान्डु