‘साना उद्योग र उत्पादनलाई हौसला प्रदान गर्छौं’



विराटनगर । प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योग व्यवसाय र उनीहरुका उत्पादनलाई प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकारले वातावरण बनाउने बताएका छन् ।

विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले मात्रै बजार प्रवद्र्धनको अवसर पाएको भन्दै उनले सरकारले साना उद्यमीहरुलाई पनि इ–कमर्शमा अभिप्रेरित गर्न मन्त्रालयको तर्फबाट सहयोग पुग्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को आयोजनामा विराटनगरमा भएको साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतीकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरु पछि पर्दै गएको बताए ।

आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरुको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरुलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाले जानकारी दिए । ‘सरकारले सहयोगको वातावरण बनाउँछ, साना उद्योग र उत्पादनलाई हौसला प्रदान गर्छौं’उनले भने ।

कार्यशालामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डिबी बस्नेतले कार्यशालाको शीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने विश्वास व्यक्त गर्नु भयो । उनले कार्यक्रमलाई अझ बढी अघि बढाउनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेशनसीप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरिकाले अघि बढाउन सहयोग पुगेको बताए । उनले टाठाबाठाले मात्रै डिजिटल प्रविधिको फाइदा लिने र उनीहरुको मात्रै व्यवसाय प्रवद्र्धन हुने अवस्थामा साना उद्यमीहरुलाई समेत त्यसतर्फ अघि बढाउनका लागि कार्यशाला केन्द्रित रहेको जानकारी दिए । मुलुकका डिजिटल इकोनोमीको आवश्यकता बढ्दै गएको समेत उनले बताए ।

स्वीस सरकार विकास सहयोग (एसडीसी) की प्रतिनिधि सुब्रिना श्रेष्ठले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र विकासको कामलाई अझ अगाडि बढाउनु पर्ने बतायइन् । उनले कार्यशालाका माध्यमबाट साना उद्यमीको उत्पादन र त्यसको बजार विस्तारमा सहयोग पुग्ने जानकारी दिइन् ।

साना व्यवसायीहरु पनि इ–कमर्शमा प्रवेश गर्दा अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने भन्दै सरकार र निजी क्षेत्रले पनि यस्ता क्रियाकलापहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा महासंघका केन्द्रीय सदस्यहरु नरेन्द्रकुमार खड्का, उमेश डालमिया, तारानाथ घिमिरेलगायतको सहभागिता थियो ।

प्रदेश १ का अध्यक्ष ढकालले उद्योग व्यवसायीहरुले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले उनीहरुलाई व्यवसायमा फर्काउनका लागि सहयोग गर्नुपर्ने बताए । त्यसको एउटा माध्यम भने विद्युतीय अर्थतन्त्रको प्रयोग र विस्तारको कार्य हुनसक्ने ढकालले बताए ।

हात हातमा हुने मोबाइललगायतका विद्युतीय प्रविधिको प्रयोगबाट पनि आफ्ना उत्पादनको प्रवद्र्धन गर्न सकिने अवसरलाई सदुपयोग गर्न उद्यमीहरुलाई आग्रह गरे ।

महासंघले साना उद्यमीहरुको क्षमता विकासका लागि डिजिटल प्लेटफर्मको प्रयोगबाट इ–कमर्शको प्रवद्र्धन गर्न सचेतिकरणका कार्यक्रमहरु गर्दै आएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए । उनले कार्यशालामा प्रदेश १ का विभिन्न जिल्लाका महासंघका पदाधिकारीहरु, उद्यमी तथा व्यवसायीहरु, उद्योग प्रतिष्ठानका कर्मचारीहरुलगायत ५० जना सहभागी रहेको जानकारी दिए ।


क्लिकमान्डु