संसद्‍मा गगनको प्रश्न: साना किसानले अप्रिय निर्णय नगर्ने बेलासम्म सरकारले कुर्ने हो ?



फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले ऋणले थिचिएका साना किसानहरूलाई जोगाउन सरकारले दिन्छु भनेको ऋणबापतको रकम उपलब्ध गराउन माग गरेका छन् ।

उनले कुखुरा पालन गरेका साना किसानहरूले अप्रिय निर्णय नगरेसम्म सरकारले उनीहरूको ऋण नतिर्दिने हो भन्दै प्रश्न गरे ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद थापाले प्रश्न गरे ‘के यिनीहरूले अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि ?’

सयौंको संख्यामा यस्ता किसान रहेको भन्दै उनीहरु दैनिक रुँदै कृषि मन्त्रालय धाइरहेको थापाले बताए ।

‘उनीहरू त्यहाँ पुग्छन् रुन्छन् कराउँछन् । यी तिनै किसानहरू जसले बैंकबाट ऋण लिएर सानो सानो कुखुरा फार्महरू चलाएका थिए’ थापाले भने ।

सरकारले बर्ड फ्लुको जोखिम न्यूनीकरण गर्न उनीहरूको कुखुरा फार्म नष्ट गरेकोले त्यसबाट भएको क्षतिपूर्ति सरकारले भर्नु पर्ने उनले बताए ।

‘यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर झुलाउँछ । किनकि सरकारलाई भ्याइनभ्याइ छ। तर बैंकले यिनलाई अठ्याउँछ,’ उनले भने ।

किसानले अप्रिय निर्णय नगर्ने बेलासम्म नकुर्ने हो भने ऋणले थिचिएका साना किसानहरूलाई जोगाउन सरकारले दिन्छु भनेको र दिनैपर्ने निर्णय गरेको ऋणबापतको रकम उपलब्ध गराउन उनले माग गरे ।


क्लिकमान्डु