प्रभु बैंकको सीइओ शेरचनको नियुक्ति बदर हुन पर्ने माग गर्दै राष्ट्र बैंकमा उजुरी



काठमाडौं । अशोक शेरचनलाई तेस्रो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रभु बैंकको सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ ।

प्रभु बैंकका एक सेयरधनीले शेरचनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सञ्चालक समितिको निर्णय बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ विपरित रहेको दाबी गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी गरेका हुन् ।

प्रभु बैंकको २८२औं सञ्चालक समितिको बैठकले माघ १५ गतेबाट लागू हुने गरी शेरचनलाई तेस्रोपटक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागमा परेको उजुरी दर्ता गर्दै छानबिनको प्रक्रिया शुरु भएको स्रोतले जानकारी दिएको छ ।

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ (२) मा २ कार्यकाल पूूरा गरिसकेको व्यक्ति तेश्रो पटक प्रमुख कार्यकारी अधिकृत हुन नमिल्ने व्यवस्था भएकाले शेरचनको नियुक्ति बदर हुनु पर्ने निवेदकको माग छ ।

प्रभु बैंक लिमिटेडले सेन्चुरी बैंकलाई प्राप्ति गर्दै प्रभु बैंक लिमिटेडको नामबाट कारोबार गरिरहेको छ ।

विगतमा बैंक वित्तीय संस्थामा एकै व्यक्ति पटक पटक एकै पदमा वा प्रमुख अधिकारीको रुपमा कार्यरत रहँदा सो संस्थाको संस्थागत सुशासन, सञ्चालन, निक्षेप तथा लगानीको क्षेत्रमा अख्तियारी दुरुपयोगका विभिन्न घटनाहरु भई निक्षेप तथा ऋण अपचलन भएपछि केन्द्रीय बैंकले दुई कार्यकाल भन्दा बढी अवधी प्रमुख कार्याकारी अधिकृत हुन रोक लगाएको निवेदकको दाबी छ ।

बैंक वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ पाँचौं संशोधन सहितले २ पटकभन्दा बढी प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्न छुट वा विशेष व्यवस्था नगरेकाले प्रभु बैंक लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय खारेज हुनु पर्ने निवेदकको माग छ ।


क्लिकमान्डु